Tuesday, May 11, 2010

संयुक्त सरकारको निर्माण गर्न वर्तमान सरकारले राजिनामा गर्नुपर्ने दशदलको निर्णय

नेवाः काठमाडौं, वैशाख २७, २०६७/



भर्खरै आमहड्ताल गरेर स्थगित गरेको नेपालको सबभन्दा ठूलो राजनीतिक दल एकीकृत ने.क.पा. (माओवादी)सहित विभिन्न दश राजनैतिक दलहरुको वैशाख २७ गते माओवादीको केन्द्रीय कार्यालय कोटेश्वर काठमाडौमा बसेको बैठकले राष्ट्रिय संयुक्त सरकारको निर्माण गर्ने पूर्वाधार तयार गर्न वर्तमान सरकारले तत्काल राजिनामा गर्नुपर्ने सामुहि निर्णय गरेको छ ।
सोमबार साँझ बसेको दश दलको बैठकले गरेका निर्णयहरु एक प्रेस विज्ञप्तिमार्फत् पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । बैठकले महत्वपूर्ण दुई बुँदामा निर्णय गरेको छ । पहिलो निर्णयमा भनिएको छ- ‘राष्ट्रिय सार्वभौमिकता, संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशी लोकतन्त्र, सामाजिक न्याय, शान्ति र संविधान हाम्रा राष्ट्रिय अभिष्ट हुन् । आगामी जेठ १४ गतेसम्म संविधानसभाबाट नयाँ संविधान जारी गर्नु र शान्ति पकृया सफलतापूर्वक सम्पन्न गर्नु आजको सबभन्दा महत्वपूर्ण कार्यभार हुन् ।’ त्यस्तै दोस्रो निर्णयमा, उक्त अभिष्ट प्राप्त गर्न र राष्ट्रिय कार्यभार पूरा गर्न माधवकुमार नेपाल नेतृत्वको वर्तमान सरकार पूर्ण असफल भएको जनाइएको छ ।
 साथै, देशमा विद्यमान राजनैतिक गतिरोधको अन्त्य गर्न शान्तिप्रकृयालाई सार्थक निष्कर्षमा पुर्याउन र समयमै संविधान सभाबाट नयाँ संविधान निर्माण गर्न देशका सबै राजनैतिक दलहरुबीच राष्ट्रिय सहमति कायम गर्नु र राष्ट्रिय सरकारको निर्माण गर्नुको विकल्प नभएको उल्लेख छ ।सोही निर्णयमा थप भनिएको छ- ‘उपरोक्त राष्ट्रिय कार्यभार पूरा गर्नका लागि सहमतिको आधारमा राष्ट्रिय संयुक्त सरकारको निर्माण गर्ने पूर्वाधार तयार गर्न वर्तमान सरकारले तत्काल राजिनामा गर्नुपर्दछ ।’


बैठकमा सहभागी भई सहमतिमा हस्ताक्षर गर्ने पार्टी तथा नेतृत्वहरु एकीकृत ने.क.पा. (माओवादी) अध्यक्ष- पुष्पकमल दाहाल ‘प्रचण्डु’; मधेसी जनअधिकार फोरम, नेपाल, अध्यक्ष- उपेन्द्र यादव; संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, अध्यक्ष- कुमार लिङदेन ‘मिराकु; ने.क.पा. एकीकृत, अध्यक्ष-ऋषिराम शर्मा कट्टेल; नेपाल सदभावना पार्टी, अध्यक्ष- सरिता गिरी; नेपाली जनता दल, अध्यक्ष- हरिचरण शाह; राष्ट्रिय जनमुक्ति पार्टी, अध्यक्ष- एम.एस. थापा; नेपाः राष्ट्रिय पार्टी, अध्यक्ष- डा. केशवमान शाक्य; चुरेभावर राष्ट्रिय एकता पार्टी, महासचिव- भूमिराज निरौला र दलित जनजाति पार्टी अध्यक्ष- विश्वेन्द्र पासवान रहेका छन् ।


- डीबी आङबुङ काठमाडौं

No comments:

Post a Comment