Saturday, May 15, 2010

धरानस्थित बुद्धिजीविहरु र लिम्बुवानजन्य संगठनहरुकावीचमा छलफल

२०६७ बैशाख २६ गते संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रवक्ता छवि सङबाङफेको पहलमा बृहत लिम्बुवान एकताका लागि धरानस्थित बुद्धिजीविहरु र लिम्बुवानजन्य संगठनहरुकावीचमा छलफल भएको छ । छलफलमा स्थानिय बुद्धिजीवि डा. रामनारायण कन्दङवा, राष्ट्रिय बक्सिङ्ग प्रशिक्षक नरेन्द्र पोमु, समाजसेवी तथा राजनीतिज्ञ मीन सुब्बा लगायत संघीय लिम्बुवान राज्य परिषदका संगठन विभाग प्रमुख रामभक्त कुरुम्बाङ, केन्द्रीय सदस्य राम मगर, संघीय लिम्बुवान राज्य परिषद (क्रान्तिकारी) का केन्द्रीय सदस्य रत्न फुरुम्बो सहभागि रहेका थिए । लिम्बुवानवादी संगठनहरुकावीच सैद्धान्तिक र दार्शनिक मतभिन्नता नभएकोले विभिन्न चिरामा विभाजित भई पृथक ढंगबाट राजनीति गर्नु कुनै अर्थ नरहेकोले सबै संगठनहरुवीच एउटै संगठनमा गोलबन्द भई लिम्बुवान प्राप्तिको आन्दोलन अगाडि बढाउनु उपयुक्त रहेको विचार डा. रामनारायण कन्दङवाले व्यक्त गर्नुभयो ।
 लिम्बुवान एकतामा जहिलेसुकै भाँजोहाल्ने सञ्जुहाङ पालुङवा र कुमार लिङदेनको पछि लाग्नुपर्ने अर्थपूर्ण तर्क र कारण दिनु सक्नु पर्‍यो नत्र निर्विवाद एकताको पक्षमा लाग्नुबाहेक अर्को विकल्प नरहेको कुरामा वहाँले जोड दिनु भयो । यसैगरि समाजसेवी तथा राजनीतिज्ञ मीन सुब्बाले भन्नुभयो, पञ्चायती व्यवस्थाको जर्जर दमनको वावजुद पनि वीर नेम्वाङले लिम्बुवानको मुद्दा उठान गरेर एउटा साहसिक कदम चाल्नु भयो, जसले पछिल्लाकालमा लिम्बुवानी यूवाहरुलाई आफ्नो ऐतिहासिक विरासत प्राप्तिको संर्घषमा प्रोत्साहन मिलेको छ । तर, धेरै लिम्बू र लिम्बुवानवासीहरु संगठनमा नआउनुको मुलकारण विभाजन भएकोले चाँडै संगठन एकीकरणगरि सम्पूर्ण लिम्बुवानवासी जनताको राजनैतिक अधिकार सुनिश्चित गर्ने राजनीतिक कार्यक्रम घोषणा गर्नुपर्छ । यसैगरि बक्सिङ खेलका राष्ट्रिय प्रशिक्षक नरेन्द्र पोमुले भन्नु भयो, लिम्बुवानका संस्थापक नेताहरु आएपनि नआएपनि एकताको अभियान अगाडि बढाउनै पर्छ र एकतालाई मञ्चमा पुर्‍याउनै पर्दछ । लिम्बुवान एकता चाँडै तार्किक निष्कर्षमा पुर्‍याउनकालागि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रवक्ता छवि सङबाङफेको संयोजनमा धरान नगर पालिका अर्न्तर्गतका विभिन्न समुदायहरुकावीच छुट्टाछुट्टै अन्तक्रिर्या र छलफल गरिने भएको छ । वहसलाई परिणाममुखि बनाउनका लागि लिम्बुवानमा एकताको अभियानलाई साथ, समर्थन र संचालन गरिरहेका विभिन्न नेताहरुले संयुक्त पहलबाट लिम्बुवानमा बसोबास गर्ने सबै जात जातिहरुवीच समय र कार्यतालिका बनाई कार्यक्रम सम्पन्न गर्ने योजना तर्जुमा भएको छ ।

लिम्वूवान डट व्लगस्पोट डटकम,धरान/छवि सङबाङफे

No comments:

Post a Comment