Wednesday, May 12, 2010

माटो, इक्सा र खाम्बेक

बुढासुब्बा मन्दिर र त्यस आसपास रहेका टुप्पाविहीन बाँस झ्याङमा लुकामारी खेल्दै एक जोडी युवायुवती प्रेमालापमा व्यस्त देखिन्छन् । उनीहरू एकआपसको आँखामा हेराहेर गर्दै आलिंगनबद्ध हुन्छन् । तल सेउतीको बगर, पारि पानबारीको पत्रङ्बारी गाउँ अनि उनीहरूको सेरोफेरोमा धरानको विजयपुर डाँडा । छेउमा बुढासुब्बाको मन्दिर ।


चौबन्दी चोलो, कैंचीमार साडी, नाकमा ढुंग्री, शिरमा शिरबन्दी, हातमा चाँदीको कल्ली लगाएकी वैंशालु युवती इक्साको वरिपरि घुम्दै आधुनिक पहिरनमा सजिएको युवक खाम्बेकले पालाम ट्युनमा मनको विरह पोख्छ, ‘गैरीबारी विराई खेतै भयो, यसैर ठाउँमा भेटै भयो ।’ जवाफमा नशालु कर्के नजर लगाउँदै लाजले भाग्छिन् इक्सा । खाम्बेकले पछ्याउँदै हातमा समाएर अंगालोमा बाँधिएपछि दुवै प्रेमको दुनियाँमा हराउँछन् ।


उनीहरू दुवैले घरका अभिभावकलाई ढाँटेर बुढासुब्बा मन्दिरमा मायाप्रीति साटासाट गर्दै एकापसमा जुनीभर नछुटिने वाचा गर्छन् । आफ्नै गाउँकी इक्सालाई प्रेम गर्दा मन्दिरलाई साक्षी राखेर कसम खाँदै वैंशालु पारामा गाउँदै रमाउँछन् ।

प्रेमी जोडीहरूका लागि चिनिएको प्रेमस्थल बनेको विजयपुरको बुढासुब्बा मन्दिरमा खाम्बेक बनेका मित्र लिङेन र इक्सा बनेकी रितु चङसुको प्रेमभावलाई छायांकार शौरभ लामाले कैद गरिरहेका थिए । र, चलचित्र थियो, माटो । छेवैमा नृत्य निर्देशक गोविन्द राई क्यामरा, एक्सन कट भन्दै यताउता गरिरहेका थिए ।

आठ वर्षअघि ‘खुकुरी’ चलचित्र बनाएर कतै हराएका निर्देशक सुब्बा अहिले सेलुलोइडमा देखिएका छन् । राष्ट्रियता, मेलमिलाप र जातीय साम्प्रदायिक सद्भावको सन्देश दिन चलचित्र माटोमा तराई, पहाड, हिमालका पात्रलाई समान रूपमा समेटिएको छ । उनले भने, ‘पछिल्लो समयमा देखिएको राजनीतिक अस्थिरताका कारण भडकिन सक्ने जातीय साम्प्रदायिक हिंसा रोक्न आफ्नो माटोका खातिर सबै नेपाली एकजुट हुन चलचित्रमार्फत सन्देश दिन खोजेको छु ।’

पूर्वबाट निर्माण भएका एक दर्जन विभिन्न चलचित्र र नाटकहरूमा स्थापित कलाकार मित्र लिङेन ‘माटो’ मा प्रमुख चार नायकमध्ये एक हुन् । ‘यसअघि धेरैमा खेलियो तर चित्त बुझेको थिएन । ‘माटो’ मा भने मैले निकै मिहिनेत गरेको छु,’ उनले भने । उनी आफैंले पनि चलचित्र ‘अरुणपूर्व लिम्बुवान’ नामक चलचित्र निर्देशन गरेका छन् ।

नायिका रितु झन् भाग्यमानी ठहरिएकी छिन् । यसअघि कुनै पनि चलचित्रमा नदेखिएकी रितु एकै पटकमा सेलुलोइडमा प्रवेश पाउने नायिका बन्न पुगेकी छन् ।

No comments:

Post a Comment